नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । रामेछाप, गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित सडकमा काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई उपचारको लागि मन्थलीतर्फ पठाइएको छ । त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ चौघडाबजारस्थित सडकमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना.२ ह २६९२ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-६ शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सिराहा, नरहा गाउँपालिका-५ स्थित सडकमा प्र.२-०१-००२ प ७०५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ६५ वर्षीय हरी यादवको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको वर्तमान हस्पिटल गोलबजारमा उपचार भइरहेको छ । यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-१३ स्थित सडकमा प्र.१-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र मे.४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका-१३ बस्ने ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको गोल्डेन अस्पताल बिराटनगर मोरङ तथा स्कुटरमा सवार १ जनाको बिराट टिचिङ अस्पताल बिराटनगर मोरङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।