सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भोजपुर, हतुवागढी गाउँपालिका-२ धारापानीस्थित सडकमा को.२ त ७२६८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय एक्सन भुजेलको सोमबार साँझ मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसतै दाङ, घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा रा.१ ख १२९१ नम्बरको टिपरले रा.७ प ७४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१९ कुटीचौर बस्ने १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सल्यान, कुमाख गाउँपालिका-६ सेराटोलस्थित सडकमा लु.४ त ६६९४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ नारायण टाकुरा बस्ने ३६ वर्षीय नबिन कामीको गए राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता कैलाली, गौरीगंगा नगरपालिका-८ मसुरियास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विकको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रूपन्देही, तिलोत्तमा नगरपालिका-९ स्थित सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.४२ प ८६२० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार तिलोत्तमा नगरपालिका-३ बस्ने गुल्मी इश्मा गाउँपालिका-६ रातमाता घर भएका १९ वर्षीय कृष्ण कुमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार