नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएको बताउनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा बुधब्र काठमाडौँमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो भन्नुभयो । “हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौँ ।”
प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर प्रधानमन्त्रीले बताउनुभयो । असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उहाँले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताउनुभयो । “मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानुनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताउनुभयो ।