

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।
विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।
राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८:४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिनुभयो ।
यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ l
प्रधानमन्त्री ओलीको सन्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ, “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।”
ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुहुँदै प्रधानमन्त्रीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गर्नुभएको छ ।
“वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ”, उहाँले भन्नुभएको छ । मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पु-याउनुपर्ने बताउनुभएको छ ।


