नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।
पक्राउ मध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै चार जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ र युवकले मलेसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरील किशानलाई काठमाडौं टेकुबाट शुक्रबार र युवकलाई काठमाडौं रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।