नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ पुस ।


वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानियाँ रहेका छन् ।
पक्राउ मध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ५ लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र संजयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


