नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, कञ्चन गाउँपालिका-१ रामडाँडास्थित सडकमा लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ मटेरिया बस्ने ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै उदयपुर, त्रियुगा नगरपालिका-११ मेनचोकस्थित सडकमा स.१ त ७८२१ नम्बरको ट्याक्टरले किचेर प्र.१-०५-००१ प ७६८४ नम्बरको स्कुटर चालक रौतामाई गाउँपालिका-७ मुर्कुची बस्ने ४० वर्षीय बासु खड्काको सोमबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने २० वर्षीय कैलाश राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार दुई जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।