सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सल्यान, छत्रेश्वरी गाउँपालिका-१ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ००१२ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने.१ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका-३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दाङ, तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित सडकमा बीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ख ४४ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार