नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।
जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ ।
बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ ।
त्यसअघि बिहीबारै पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो । उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नुभएको थियो ।
बिहीबार सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गर्नुभएको थियो ।
लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा दायर गरिएको थियो ।