नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ स्थित सडकमा लु.१ क १९४० नम्बरको जेसिबि र लु.४ प ३९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ पडरिया बस्ने २८ वर्षीय मोहम्मद अजिम मुसलमानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटीअस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । जेसिबि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बारा, आदर्शकोतवाल गाउँपालिका-६ लौकाहास्थित सडकमा बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको पिकअपले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक भारत राज्य बिहार बैरगनिया बस्ने २५ वर्षीय साहेब पण्डितको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको गण्डक अस्पताल वीरगंजमा उपचार भइरहेको छ । हाल फरार पिकअप र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै म्याग्दी, बेनी नगरपालिका-६ चुत्रेनीस्थित सडकमा ग.१ क ५७३५ नम्बरको टिपरले ध.७ प ४००५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मंगला गाउँपालिका-३ बरंजा बस्ने ४६ वर्षीय थम बहादुर रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुन्धान गरिरहेको छ ।
