क्यानडा र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन् ।

पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै पाँच जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौं टेकुबाट आइतबार र रविनलाई काठमाडौं कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो ।

शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार