नवकान्तिपुर संवाददाता
रामपुर (पाल्पा), १६ माघ l
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन गर्ने नीति लिएको बताउनुभयो ।
उहाँले विदेशी आयातित काठलाई निरुत्साहित बनाउन आवश्यक कार्ययोजना बनाइरहेको बताउनुभयो । वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन, वातावरणीय संरक्षण ऐन नियमावली बनाउने क्रममा रहेको उहाँले जानकारी दिँदै वातावरण परिवर्तनले देशले भोग्नुपरेको बताउनुभएको छ ।
वन्यजन्तु र मानवबीच चलिरहेको द्वन्द्वका कारण मानिसले धेरै दुःख पाइरहेको हुँदा अब वन ऐन संशोधन गरेर समस्या समाधान गर्न खोजिएको जानकारी दिनुभयो ।
“हात्ती, बाघ, गैँडा, बाँदरजस्ता वन्यजन्तुका कारण मानिसले धेरै दुःख पाइरहेको अवस्था छ, बँदेल र बाँदरलाई नयाँ नीति ल्याएर कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर समस्या समाधानको प्रयास गर्न खोजिएको छ”, मन्त्री शाहीले भन्नुभयो ।
विकास निर्माण र वनबीचको अत्यन्त नजिक सम्बन्ध छ तर साना कारणले अप्ठ्यारो स्थिति सिर्जना भएको हुँदा सबै समस्या समाधान गर्नका लागि ऐन संशोधन र परिमार्जन गर्न लागिएको उहाँले जनाउनुभयो । यसले गर्दा आगामी दिनमा मानव समुदायले वनबाट भोग्नुपरेका समस्या धेरै समाधन हुने उहाँको भनाइ छ ।