सहिदको बलिदानकै कारण उज्यालो युग आयो : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदको बलिदानका कारण मुलुकमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा उज्यालो युग आएको बताउनुभएको छ । उहाँले स्वास्थ्य उपचारका क्षेत्रमा नागरिकले पाइरहेको सुविधा सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्थाको प्रतिफल भएको धारणा व्यक्त गर्नुभयो ।

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले विर्तामोड नगर अस्पताललाई सहिद दिवसको अवसर पारेर बुधबार प्रदान गरेको चिकित्सा सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताउनुभयो ।

“विसं २०४० तिर विर्तामोडमा उपचार गर्ने ठाउँ नभएर मानिस भारतको सिलिगुढी जान बाध्य थिए”, अहिले झापा स्वास्थ्य क्षेत्रको केन्द्र बनिरहेको उदाहरण दिँदै उहाँले भन्नुभयो, “अहिले आँखा र क्यान्सरको उपचार गर्न भारतबाट मानिसहरू विर्तामोड आउने गरेका छन् ।”

राणा शासन र पञ्चायती व्यवस्थामा जनताले स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा अँध्यारो युग व्यहोर्नु परेको उल्लेख गर्दै सभामुख घिमिरेले नागरिकले स्वतन्त्रतापूर्वक जिउन पाउने अधिकारका लागि बलिदान दिने सहिदहरूको योगदानलाई कहिल्यै भुल्न नहुने बताउनुभयो । उहाँले स्वास्थ्य बिमामार्फत हुने उपचारलाई अझ व्यवस्थित र भरपर्दो तुल्याउनुपर्ने आवश्यकता औँल्याउँदै निःशुल्क उपचार दिँदै आएका सरकारी अस्पतालहरूलाई निजी क्षेत्रका अस्पतालसँग प्रतिस्पर्धा गर्नसक्ने सुविधासम्पन्न बनाउन राज्यले भरपुर सहयोग दिनुपर्ने सुझाव राख्नुभयो ।

दुई करोडको अस्पताल सामग्री सहयोग
संस्थाले झापाका चार वटा सरकारी स्वास्थ्य संस्थालाई रू दुई करोड मूल्यका चिकित्सा सामग्री सहयोग गरेको छ ।

विर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सामग्री सभामुख घिमिरेको उपस्थितिमा बुधबार दातृ संस्थाले हस्तान्तरण गरेको हो । ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ का नेपाल संयोजक जीवप्रसाद पोखरेलले सभामुख घिमिरेको पहलमा विर्तामोड नगर अस्पताललाई रू ७० लाख मूल्य बराबरको चिकित्सा सामग्री आज हस्तान्तरण गरिएको बताउनुभयो ।

बुधबारै अर्जुनधाराको खुदुनाबारी स्वास्थ्य केन्द्रलाई रू २७ लाख मूल्य बराबरको चिकित्सा सामग्री सभामुख घिमिरेकै उपस्थितिमा हस्तान्तरण गरिएको छ । झापा गाउँपालिकाको आधारभूत अस्पताल र कमल गाउँपालिकास्थित आयूर्वेद अस्पताललाई मङ्गलबार ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले चिकित्सा सामग्री प्रदान गरिसकेको छ ।

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ स्वास्थ्य र शिक्षाका क्षेत्रमा विसं २०७२ को महाभूकम्पपछि राहत तथा विकास सहयोग प्रदान गर्दै आएको अमेरिकी दातृ संस्था हो । यसले ‘वर्क फर नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सो दातृ संस्थाको सहयोग वितरणको व्यवस्थापनको कार्य गर्दै आएको संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीले बताउनुभयो ।

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले इसीजी, शल्यक्रिया, ओपिडी, बर्थिङलगायतका कार्यमा प्रयोग हुने एक सय ३६ प्रकारका महत्त्वपूर्ण चिकित्सा सामग्री आज प्राप्त भएको बताउनुभयो ।

सम्बन्धित समाचार