आठ वर्षीया बालिका पाण्डेले ल्याइन् बालकथा सङ्ग्रह

कक्षा ३ मा अध्ययनरत ८ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा सङ्ग्रह The Sprouting Stories लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित पुस्तक विमोचन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डेले उक्त बालकथा सङ्ग्रह लोकार्पण गर्नुभयो । संस्कार पब्लिकेसनद्वारा प्रकाशित उक्त कृत्तिमा अङ्ग्रेजी माध्यमबाट लेखिएका जम्मा ११ वटा कथाहरु समोवश रहेका छन् ।



पुस्तक लोकार्पण समारोहमा बोल्नुहुँदै मन्त्री पाण्डेले यति कलिलो उमेरमा यस स्तरको कथा लेख्नु आफैंमा विशिष्ट क्षमता रहेको धारणा राख्दै लेखिकालाई प्रोत्साहन गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुुभयो– ‘जुनसुकै पेशा व्यवसायमा क्रियाशील भएता पनि साहित्यमा जोडिएका व्यक्तिहरु अरूको तुलनामा कम अपवित्र रहन्छन् ।’ विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्नुहुँदै उहाँले अगाडि भन्नुुभयो– साहित्यकारहरू भावुक हुन्छन् र त्यो भावुकताले मानिसलाई असल कामप्रति प्रेरित गर्ने गर्दछन् । कल्पनाशक्ति वास्तवमै अद्भुत हुन्छन् र आजको च्याट जिपिटी र इन्टरनेटको जमानामा चिन्तन गर्ने काममा कमी आएता पनि कल्पनाशक्ति भन्दा सशक्त अन्य कुनै शक्ति छैन ।’

कार्यक्रममा बोल्नुहुँदै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले मानिसले जस्तो वातावरण प्राप्त गर्छ त्यस्तै आकार ग्रहण गर्दछ । बालप्रतिभा आकृति पाण्डेमा एक विशिष्ट क्षमता रहेको धारणा व्यक्त गर्नुभयो ।

जय नेपाल फाउन्डेशनका अध्यक्ष बद्री अर्यालले आकृतिमा अलौकिक प्रतिभा देख्न सकिन्छ र भोलिको दिनमा विशिष्ट साहित्यकार बन्न सक्ने गुण बोकेर आएको विचार राख्नुभयो ।

पुस्तकको समीक्षा गर्नुभएका लेखक शङ्करकुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउनुका साथै पात्रहरूलाई उचित न्याय दिएको बताउनुभयो । विभिन्न रसहरूको समेत प्रयोग गरी कलात्मक तवरले कथा लेख्ने साहस गर्ने लेखिकाको कामले आफूूलाई पनि प्रभावित बनाएको बताउनुभयो ।

प्रधानले अगाडि भन्नुुभयो– कथाभित्र रोचक तथा सन्देशमुलक कथाहरू समेटिएका र ती कथाहरूले मानव जीवनसमेतलाई छुने काम गरेको बताउनुभयो । उहाँले विमोचित कथासङ्ग्रहले करुणाको सन्देश, एकताको सन्देश, मित्रताको सन्देश, अरूलाई चित्त दुखाउनु नहुने खालका सन्देश, धैर्यताका सन्देश प्रवाह गरेको बताउँदै यो कथासङ्ग्रह बिल्कुल मेहेनतका साथ तयार भएको र पठनीय रहेको बताउनुभयो ।

संस्कार पब्लिेकनसकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्कार पब्लिकेसनले बालप्रतिभालाई प्रोत्साहन गर्न पुस्तक प्रकाशनको जिम्मेवारी लिएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले– पढ्नेहरूले आफ्नो जीवन मात्र सुन्दर नबनाई सारा समाज र संसारलाई सुन्दर बनाउँछन् भन्दै पठन संस्कृतिको महत्त्वको उजागर समेत गर्नुभयो ।

लेखिकाकी पिता अमिन पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै छोरीको सृजनशील कर्मले गौरावान्वित बनाएको बताउनुभयो । उहाँले छोरी आकृति सानै उमेरदेखि पढ्न, लेख्न र चिन्तन गर्नमा उद्धत रहने र तीक्ष्ण बुद्धिको रहेको अनुभव सुनाउनुभयो ।

कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुहुँदै संस्कारका उपाध्यक्ष शरद श्रेष्ठले समाजलाई गतिशील बनाउँदै समृद्धि र विकासको बाटोमा अघि बढाउन पढ्नुका साथै लेख्ने काम समेतको आवश्यकता रहेको बताउनुभयो ।

उक्त लोकार्पण समारोहमा अन्य विविध सांस्कृितक कार्यक्रमसमेत समावेश गरिएको थियो भने कार्यक्रमलाई सहजीकरण रेडियोकर्मी गोपाल घिमिरेले गर्नुभएको थियो ।

सम्बन्धित समाचार