सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा.५ ख २९९९ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोक बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ६ जनामध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल चितवनमा र १ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै नवलपरासी पश्चिम, सरावल गाउँपालिका-१ सालबासस्थित सडकमा प्रदेश ३-०२- ००६ प ९८३६ नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपन्देही अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै चितवन, खैरहनी नगरपालिका-८ मगनीचोकस्थित सडकमा वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १६२२ नम्बरको बसको ठक्करबाट रिक्सा चालक सोही नगरपालिका-३ गोठशोर बस्ने ४४ वर्षीय बलराम मैनालीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार