नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहस्थित सडकमा लु.२ ख ८८६ नम्बरको ट्रकमा लु.९४ प ८५९४ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका-१० कालिकानगर शम्भुपथ बस्ने गुल्मी घर भएका ७२ वर्षीय धन बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ मालेबगरस्थित सडकमा ग.१ क ५८९६ नम्बरको टिपरले प्र.३ ०१-०२२ च ६७७८ नम्बरको कार र ग.१८ प ७७५२ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सप्तरी, छिन्नमस्ता गाउँपालिका-५ लोखरमस्थित सडकमा लोखरमबाट सिपुरतर्फ जाँदै गरेको प्र.२-०१-००१ त ०२०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय मुकेश कामैतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । उता झापा, कन्काई नगरपालिका-१ जुकेकल्भर्टस्थित सडकमा सुरूङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.४ प ९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक झापा गाउँपालिका-६ शरणामती बस्ने ५० वर्षीय हरि प्रसाद सिटौलाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएनसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यता मोरङ, उर्लाबारी नगरपालिका-३ मंगलबारे चोकस्थित सडकमा को.२८ प २२९३ नम्बरको मोटरसाइकलको ठक्करबाट मिक्लाजुङ गाउँपालिका-४ बस्ने ७० वर्षीय फौदसिंह बिकको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।