नवकान्तिपुर संवाददाता
दमौली (तनहुँ), २६ माघ l
बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् ।
पर्यटन व्यवसायी आशुतोष प्रधान र हरि लामिछानेले उक्त कार्यक्रममा सहभागिता जनाउँदै बन्दीपुर भ्रमण वर्ष र बन्दीपुरको पर्यटन सम्भावनाबारे जानकारी गराउनुभएको छ ।
बन्दीपुरको इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिएको प्रधानले बताउनुभयो । बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेका छन् । उक्त सङ्ख्यालाई दोब्बर बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ ।
गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”
भ्रमण वर्षका क्रममा बन्दीपुर-छिम्केश्वरी-मनकामना-गोरखा मन्दिर–लिगलिगकोट-भानु जन्मस्थल हुँदै पुनःबन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ ।