बालेनलाई अमरेशको चुनौती – हिम्मत भए संसद् भवन, सर्वोच्च, बालुवाटार र सिंहदरबार भत्काएर देखाऊ

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद सन्तोष परियारले दलित समुदायमाथि हुने जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर अघि बढ्न माग गर्नुभयो । सांसद अब्दुल खानले गत वर्ष दुई हजार ५०७ जनामाथि बलात्कार भएको प्रहरीको तथ्याङ्क रहेको उल्लेख गर्दै प्रत्येक दिन तीनदेखि चार महिलाको बलात्कार हुने गरेको बताउनुभयो ।

यही माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै उहाँले दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गर्नुभयो । बर्दियाको बडैया तालको सार्वजनिक जग्गा अवैधरुपमा दर्ता गरी भोगचलन गरिएकामा प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गराउँदा पनि कारबाही नभएको सांसद खानको आरोप थियो ।

सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाले आइतबार कवाडी व्यवसायीमाथि डोजर चलाएकाले त्यस्ता काम नगर्न माग गर्नुभयो । उहाँले मेयर बालेन शाहले कवाडीमाथि डोजर चलाएर हिट्लर शैली अपनाएको भन्दै हिम्मत भए शीतल निवास र सिंहदरबार भत्काएर देखाउन चुनौती दिनुभयो ।

त्यस्तै उहाँले बालेन नाजीवाद वा फासीवादको अगुवाजस्तो हुन खोजेको आरोप थियो । ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ’, उहाँले भन्नुभयो, ‘काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’

सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघका आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गर्नुभयो । सांसद सुमना श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षकले किन राजीनामा दिएको भनी जवाफ माग गर्नुभयो ।

सम्बन्धित समाचार