आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको बताउनुभएको छ ।

काठमाडौँको सामाखुशीमा सञ्चालित नवोदित कलेजले आयोजना गरेको ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दैै उहाँले शिक्षा नीतिकै कारण मुलुकको शिक्षा क्षेत्र परिवर्तन हुन नसकेको बताउनुभएको हो । “विसं २०५५ सालमा म शिक्षामन्त्री हुँदा राष्ट्रिय शिक्षा नीति लागू गरेको थियौँ, अहिले २६ वर्ष पूरा भएर देश सङ्घीयतामा गइसके पनि नीति भने त्यही छ”, उहाँले भन्नुभयो ।

शिक्षालाई प्रभावकारी बनाउने विषयमा राज्य कमजोर देखिएको उहाँको भनाई थियो । नेता केसीले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कलेजका प्राचार्य राजेन्द्र अधिकारीले शिक्षालाई प्रविधि र सीपसँग जोड्न नसकेसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभयो । विद्यार्थीलाई प्रविधि र सीपसँग जोड्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने उहाँको भनाई थियो ।

उक्त प्रदर्शनीमा उक्त स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीले ५० भन्दा बढी स्टल राखेका थिए । उक्त स्टलमा प्रविधिको विकासबारे विद्यार्थीबाट निर्माण गरिएका सामग्री प्रदर्शनीमा राखिएका थिए ।

सम्बन्धित समाचार