नवकान्तिपुर संवाददाता
त्रिशूली (नुवाकोट), १७ फागुन ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको आर्थिक एवं सामाजिक विकासका लागि कांग्रेस पार्टी सक्षम रहेको दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेस शिवपुरी गाउँपालिका नुवाकोटको प्रथम पालिका सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रवक्ता महतले कांग्रेसका प्रतिनिधिले पाएको जिम्मेवारी इमान्दार र कौशलतापूर्वक पूरा गर्दै देशको विकास र परिवर्तनमा पुर्याएको योगदान उच्च रहेको दाबी गर्नुभयो ।
“अरुले कामभन्दा प्रचार बढी गरेर सस्तो लोकप्रियता कमाउँदै जनतामा भ्रम सिर्जना गरिरहेका छन्”, उहाँले भन्नुभयो, “देशमा प्रजातन्त्रको स्थापना, शान्ति र सुशासन, विकास निर्माणका गतिविधि, रोजगारको सिर्जना, गुणस्तरीय शिक्षामा कांग्रेसबाट निर्वाचित र जिम्मेवारीमा रहेका प्रतिनिधिको भूमिका अन्य दलसँग तुलना नै हुन सक्दैन ।”
कांग्रेसले देशको अर्थतन्त्र मजबुद बनाउँदै भौतिक संरचनाको विकासमार्फत मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन केन्द्रित हुँदै आएको पूर्वअर्थमन्त्री महतको भनाइ छ । देशको सबैभन्दा ठूलो र जिम्मेवार राजनीतिक दल कांग्रेस भए पनि विगतमा पार्टीभित्रको अविश्वासले समस्या भएको स्वीकार गर्दै अहिले ती समस्या पनि अन्त्य भएको उहाँको दाबी छ ।
“नुवाकोट कांग्रेसमा महत–केसी भन्ने कुनै गुट र समूह छैन । कांग्रेस एक छ, एउटै छ,” महतले भन्नुभयो, “भातृ सङ्घसंस्थाको परिचालन, पार्टीको सदस्यता वितरण र नवीकरण स्वच्छ एवं पारदर्शी रुपमा हुन्छ । कांग्रेस एक ढिक्का भएर अघि बढ्छ । यो सन्देश देशभर दिनेछौँ ।” नुवाकोटको विकास र जनताको समस्या समाधानमा यहाँबाट निर्वाचित प्रतिनिधि नहुदाँको बखतमा धेरै योगदान पुर्याउँदै आएको भन्दै आसन्न निर्वाचनमा आफू नुवाकोटबाट उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।