नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ फागुन ।
काठमाडौं र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । काठमाडौं, शंखरापुर नगरपालिका-३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै अर्घाखाँची, भूमिकास्थान नगरपालिका-५ धारीचौर बस्ने राधिका बेल्वासेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय तुल्सी रायमाझी समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।