नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१७ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने ४६ वर्षीय अंगद कुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ बस्ने ३३ वर्षीय नर माया कार्की रहेका छन् ।
पक्राउ मध्ये अंगदले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६० हजार रूपैयाँ, जगदिश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख रूपैयाँ र नर मायाले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ९९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अंगदलाई काठमाडौं नागार्जुन नगरपालिका- १ बाट सोमबार तथा जगदिश्वरलाई काठमाडौं महानगरपालिका-१२ बाट र नर मायालाई काठमाडौं महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।