चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित

चन्द्रागिरि नगरपालिकाले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पु-याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो ।

समाजसेवामा समर्पित भई अतुलनीय योगदान पु-याएबापत स्थानीय शारदा खतिवडा, रुकुमिणी गिरी र यमुनादेवी श्रेष्ठ, महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शान्ति महर्जन र दुर्गा तिमिल्सिना तथा नगर क्षेत्रबाट हालै विद्यावारिधि हासिल गरेका डा मिनु सिग्देल लोहनी र डा सुनिता थापालाई सम्मान गरिएको हो ।



यसैगरी, महासेनानी अञ्जु कार्की रायमाझी, उद्यमी कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वती कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्यौपाने र दीना श्रेष्ठलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, निमित्तप्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र एवं दोसल्ला ओढाए सम्मान गर्नुभयो ।

त्यस अवसरमा नगरप्रमुख गिरीले महिलाहरूको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै उनीहरूको सशक्तीकरण, नेतृत्व विकास र उद्यमशीलतामा काम गरिरहेको बताउनुभयो । उहाँले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न पालिका सचेत रहेको बताउनुभयो ।

उपप्रमुख श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त सहकार्य र समन्वयमा नगर क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका कार्यक्रम सञ्चालन भइराखेको बताउनुभयो ।

नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका प्रमुख महिला विकास अधिकृत रश्मी श्रेष्ठ र महिला विकास अधिकृत अनिता पौडेलले समावेशी योजना तयार गर्न सहयोग पुग्ने अपेक्षासहित नगर क्षेत्रमा बसोबास गरिरहेका लब्धप्रतिष्ठित महिलाहरूको विवरण तयार गरिने बताउनुभयो ।

सम्मानित हुनेतर्फ बागमती प्रदेशसभा सदस्यसमेत रहनुभएकी यमुनादेवी श्रेष्ठ, समाजसेवीद्वय खतिवडा र गिरीले नगरपालिकाले महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो रहेको चर्चा गर्दै यसले समावेशी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार