सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर, पुनर्वास नगरपालिका-९ ख गाउँ खाती चोकस्थित सडकमा पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ क ५९२ नम्बरको टेलर गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने बैतडी शिवनाथ गाउँपालिका-५ घर भएका ४० वर्षीय सुन्दर सिंह साउदको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी, राजबिराज नगरपालिका-१ पडरियास्थित सडकमा महुलिबाट राजबिराजतर्फ आउँदै गरेको को.१ ज २८६४ नम्बरको गाडी अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक रूपनी गाउँपालिका-१ बस्ने ३५ वर्षीय रघु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सप्तरी, राजबिराज नगरपालिका-११ झल्ही नहरस्थित सडकमा राजबिराजबाट सियोंनतर्फ जाँदै गरेको मधेश प्रदेश ०६-००१ प २६२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय घनश्याम यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार