नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।
काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि मंगलबार शिवपुरी जङ्गलमा मृत भेटिएका छन् ।
उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले राससलाई जानकारी दिनुभयो ।
उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारीप्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उहाँले बताउनुभयो । उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । मृत्युको कारण भने नखुलेको पनि उहाँले बताउनुभयो ।
यस्तै तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा आजै मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आज आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ ।