नवकान्तिपुर संवाददाता
भक्तपुर, १ चैत ।
फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरू भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएर बिहीबार बिदाइ गरेका छन् ।
भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्युवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्नेगरी हेर्न आउनुभयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई आजदेखि बिदाइ गरेका हुन् ।
भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमका रूपमा एक सातासम्म प्रदर्शनमा राखिएकामा आज त्यसलाई खोलामा लगेर पखालेपछि होली पर्व विधिवत रूपमा विसर्जन गरिएका हो ।
काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाति, बम्हायणी, च्यामासिं हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरिका घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइएको थियो ।
भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू भनिने बताउनुहुन्छ । चिरस्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरू हुने परम्परा रहेको छ । घुमाएको लिङ्गलाई स्थानीयले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउनुहुन्छ ।
बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रूपमा नभई सांस्कृतिक महत्त्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको स्थानीयको भनाइ छ ।
दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हदसँग सम्बन्धित रहने होलीपर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहेने गरेको संस्कृतकर्मीको भनाइ छ । चिर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ ।
फागु पूर्णिमाका दिन आज मन्दिरबाट लिङ्ग निकाली स्थानीय एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखालेर र पुनः मन्दिरमा राखेपछि विधिवत रूपमा होली समापन भएको हो । स्थानीय जनविश्वास अनुसार छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्दछ ।