नवकान्तिपुर संवाददाता
राजविराज (सप्तरी), २७ चैत ।


नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
सप्तरीको राजविराजस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली जनतालाई राजाले पटकपटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, अब फेरि राजतन्त्रलाई जनताले स्वीकार्ने छैनन् ।” विद्यमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहे पनि शासन शैलीमा भएका कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डललगायतको उपस्थिति थियो ।


