नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सडकमा रोकी राखेको से.१ ख १२६८ नम्बरको मिनि ट्रकमा से.५ प ६९४४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-८ बस्ने ४५ वर्षीय अमर बमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै इलाम, इलाम नगरपालिका-७ जिरोस्थित सडकमा को.१ त ७३४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक इलाम घर भएका ४० वर्षीय सुवास तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै रौतहट, राजपुर नगरपालिका-३ महमद टोलस्थित सडकमा म.प्र.०३-००२ ह ६३८६ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने रोज उमैरको छोरा ३ वर्षीय शेख अजुल्लानको बुधबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको आशिर्वाद अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

