नवकान्तिपुर संवाददाता
वीरगन्ज (पर्सा), ३१ चैत l


हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिनुभयो । “मेरो त दाहिने हातमा चोट लागेको छ”, उहाँले भन्नुभयो, “मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन । अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ ।”
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते हुनुभएको छ । पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिनुभयो ।
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिनुभयो ।
“शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ”, उहाँले भन्नुभयो, “कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नुभएको छ । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।”
प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिनुभयो । “अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ”, उहाँले भन्नुभयो ।
सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिनुभयो । “एक जना घाइतेको खुट्टा भाचिँएको छ । उहाँको उपचार जारी छ”, उहाँले भन्नुभयो, “अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।”
जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार बिहान १२:०० बजेसम्मको अवधिमा कफ्र्यु आदेश जारी गरेको छ ।

