नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।


उमेरका हिसाबले उकालो लाग्ने क्रममा रहेर पनि एउटा युवासरह जोश, जाँगर र लक्ष्य बोकेर निरन्तर अक्षर–साधना गर्ने स्रष्टाको नाम हो– शिवप्रसाद ढकाल । ‘भक्त गाथा’ मार्फत् नेपालको इतिहासलाई पृथक ढङ्गले चिनाएर चर्चा र सम्मान कमाउनुभएका ढकाल उत्साह र कदरको भागीदार हुनुहुन्छ ।
यसैक्रममा ज्ञानगुन प्रकाशनले आफ्नो २३६औं भागमा स्रष्टा शिवप्रसाद ढकाल विशेषाङ्क प्रकाशित गरेर ढकाललाई विशेष सम्मान प्रकट गरेको देखिन्छ । विशेषाङ्कमा १२ जना विशिष्टहरूले ढकालका जीवनका विभिन्न आयमहरूलाई प्रकाशमा ल्याउनुभएको छ । विशेष गरी त्रिचन्द्र क्याम्पसको प्रशासकका रूपमा रहँदाका अविस्मरणीय घटनाहरू, पत्रकार र पत्रकारिताका क्षेत्रमा पुुर्याएको योगदान, समाजसेवीका रूपमा उहाँले निर्वाह गरेको भूमिका र एउटा लेखकका रूपमा लेखनीका माध्यमबाट नेपाली समाजलाई दिन खोजेको सन्देशलाई विशेषङ्कमा विशेष चर्चा गरिएको छ ।
विशेषाङ्कमा क्रमशः प्राडा राजेश गौतम, भरतराज पोखरेल, मोहनप्रसाद आचार्य, सिद्धिभक्त श्रेष्ठ, सुमनकुमार सिग्देल, कमलनाथ ढकाल, नारायण शिवाकोटी, सुजित अधिकारी र सुभद्रा पाण्डे, सनतकुमार न्यौपाने, प्राडा ऋषिराम पोखरेल, सुदर्शन नेउपाने तथा जीवन सुवेदीले स्रष्टा ढकालका जीवनका बहुआयामिक पाटाहरूलाई कलात्मक र रसात्मक रूपमा प्रस्तुत गर्नुभएको छ ।
भनिन्छ– हरेक मान्छे आफैंमा एउटा महाकाव्य हो । मान्छेभित्र अनन्त भावना, दृष्टिकोण, अनुभव र चेतनाको भण्डारण हुन्छ तर त्यो सुषुप्त अवस्थामा रहेको हुन्छ । जसले लिखित रूपमा प्रकट गर्ने सामर्थ्य राख्छ, ऊ साहित्यकार वा लेखक बन्छ । जसले आफ्ना भोगाइ, भावना र ज्ञानलाई लिखित रूपमा प्रकट गर्ने सामर्थ्य राख्तैन, ऊ साहित्यनुरागी वा राम्रो पाठकमा सीमित हुन पुग्दछ ।
स्रष्टा ढकालले आफूूभित्र रहेका अनुभव, ज्ञान र भावनालाई पुस्तकका रूपमा प्रकाशन गरेर इच्छाशक्ति प्रवल रूपमा रहे प्रतिभा प्रस्फुटनका लागि उमेर बाधक बन्न सक्तैन भनेर समकालीन समाजलाई मीठो सन्देश दिनुभएझैं लाग्दछ ।
नेपाली समाज स्रष्टा ढकालबाट अरू पनि थुप्रै साहित्यिक र अन्य ज्ञानवर्धक कृतिको अपेक्षा राख्दछ ।
