नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।


सुनको मूल्य प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । सोमबार तोलामा रू एक लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला रू छ हजार नौ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँ बढ्दै तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको हो ।
निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
