सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-३ कुस्मास्थित सडकमा युपि ५६ के ९३१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २२ वर्षीया ज्योती चौहानको मंगलबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरस्थित सडकमा ना.६ ख ७५०९ नम्बरको ट्रकले प्र.-२-०३-०२१ प ६३०६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-२१ परवानीपुर बस्ने १९ वर्षीय प्रदिप कुमार गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्थित सडकमा सु.प.प्र.०१-००२ त ४०१५ नम्बरको ट्याक्टरले सु.प.प्र.०१-०११ प ८७१७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सुनसरी, इटहरी उपमहानगरपालिका-१० स्थित सडकमा हाल नम्बर नखुलेको इलेक्ट्रिक स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यता डोटी, जोरायल गाउँपालिका-१ गोल्डेनस्थित सडकमा सु.प.प्र.०१ ००१ ख ३४२८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक बझाङ बुंगल नगरपालिका-२ दहबगर बस्ने ३३ वर्षीय अर्जुन धामी, मिनिट्रकमा सवार ४३ वर्षीय उज्ज्वल धामी र ४१ वर्षीय जगत धामीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार