मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो । चमार तामाङ समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार