संसद्मा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच सुशासन र भ्रष्टाचार मामलामा घोचपेच र आरोप–प्रत्यारोप चलेको छ ।

विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले भष्ट्राचार निवारण र सुशासन कायम गर्ने सवालमा अघिल्लो सरकार र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर आरोप–प्रत्यारोप चलेको हो ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालमा छोटो–छोटो समयमा सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक तथा सामाजिक विकास कमजोर भएको उल्लेख गर्नुहुँदै अहिलेको सरकार ढल्दैछ भनेर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबाट दुष्प्रचार भइरहेको टिप्पणी गर्नुभयो ।

“अहिले सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । आलोपालो गर्ने भनेर सातबुँदे सहमति भएर सरकार सञ्चालन भइरहेको छ । तर सरकार विरूद्धका चलखेल जारी छन् । सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालनका लागि भएको सहमतिअनुसार अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । प्रतिपक्ष दलले सरकार ढल्ने भनेर गरिरहेको प्रचारमा सत्यता नरहेको उल्लेख गर्नुहुँदै सांसद थापाले सत्तापक्ष दल नेपाली कांग्रेसका केही सांसदहरूले पनि गठबन्धन विरोधी धारणा सार्वजनिक रूपमा राखिरहेको आरोप लगाउनुभयो ।

आफ्नो दलभित्रका असन्तुष्टिलाई देखाएर सरकार कमजोर बनाउनुभन्दा त्यसलाई महाधिवेशनमार्फत सल्टाउनुपर्ने पनि सांसद थापाको भनाइ थियो ।

त्यस्तै, अघिल्लो सरकारले भ्रष्टाचार र तस्करीलाई प्रसय दिएको आरोप पनि उहाँको छ । विक्रम संवत् २००७ देखि हालसम्म निकै कम सरकारले मात्रै तीन वर्षभन्दा बढी सरकार चलाएको र पछिल्लो ७५ वर्षमा कुनै पनि सरकारले पाँच वर्ष पूरा अवधि काम गर्न नपाउनु लज्जाको विषय रहेको सांसद थापाको भनाइ छ । तीनकुने घटनाको जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीले लिनुपर्ने पनि उहाँको भनाइ छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्रीको प्रस्तावमा हटेको उल्लेख गर्नुहुँदै सांसद थापाले त्यसको दोष प्रधानमन्त्री थोपर्न नहुने बताउनुभयो । यस विषयमा के भएको हो भनेर नेपाली कांग्रेसका सांसदहरूले आफ्ना सभापतिलाई सोध्नुपर्ने पनि सांसद क्षेत्रीले बताउनुभयो ।

प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अहिलेको सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाउनुभयो ।

“यो सरकार जनताको सरकार होइन । यसले जनताको पक्षमा काम गर्दैन । बिचौलिया, तस्करको हितमा काम गर्छ”, उहाँले भन्नुभयो, “देश सङ्कटको भुमरीतर्फ गइरहेको छ । जताततै अस्तव्यस्तता छ । नागरिकलाई सेवा प्रवाहमा समस्या छ । दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले ती समस्या समाधान गर्ने तत्परता देखाएको छैन ।”

अहिले लोकतान्त्रिक व्यवस्थामाथि सङ्कट आउनु विद्यमानको सरकारको कार्यशैलीको उजप रहेको उहाँले टिप्पणीसमेत गर्नुभयो ।

त्यस्तै, सत्तापक्ष सांसदहरूले आफ्नो कमजोरी र असक्षमता लुकाउन प्रतिपक्षलाई गाली गर्न थालेको धारणा पनि सांसद शाहीको छ ।

“सरकारको व्यवहारबाट भ्रष्टाचारी र तस्करीहरू खुसी भएका छन् । समाजवादउन्मुख अर्थ व्यवस्था कतातर्फको यात्रा हो ?”, संसद्मा प्रश्न गर्दै उहाँले भन्नुभयो । शिक्षक आन्दोलन, निजामती कर्मचारी, चिकित्सक, लघुवित्त तथा सहकारी पीडितलगायत आन्दोलनरत पक्षका विषयमा सरकार गम्भीर नरहेको पनि सांसद शाहीको भनाइ छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ र रिहाइले मुलुकको न्यायिक क्षेत्र र सुरक्षा क्षेत्रमाथि गम्भीर प्रश्न देखिएको बताउनुभयो । राज्यको कर्णाली क्षेत्रप्रति हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको रहेको गुनासो पनि उहाँको छ ।

सम्बन्धित समाचार