सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरुरी छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासङ्घद्वारा मंगलबार आयोजित ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तर्क्रियामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गरुङले सरकारको ध्यान केन्द्रीत गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता भएको तर्क गर्नुभयो ।

सम्पूर्ण सरोकारवालामाझ छलफल गरेर आमसञ्चार विधेयक ल्याइने जानकारी दिँदै मन्त्री गुरुङले आवश्यक सुझाव दिएर कानुन निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभयो । पत्रकारिताको गुणस्तरीयता सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले पत्रकारलाई प्रशिक्षण दिन तालिम केन्द्र तत्काल आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “हामीलाई गुणस्तरीय पत्रकारिताको खाँचो छ । त्यसका लागि तालिम केन्द्र आवश्यक छ ।” उहाँले मुलुकमा सुशासन कायम गर्न सरकारको काममा पारदर्शीता जरूरी रहेको र सूचनाको हकले सरकारलाई जनताप्रति थप जवाफदेही बनाउने धारणा राख्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आर्चायले सूचनाको हक प्रत्येक नागरिकले पाउनुपर्ने भए पनि पत्रकारले यस हकलाई अझै नागरिकमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सूचनाको हक पर्यावाची जस्तै भएकाले यसको महत्त्व उच्च रहँदै आएको बताउनुभयो । उहाँले सञ्चार मन्त्रीलाई पत्रकार महासङ्घसँग सहकार्य गरेर नीति तथा सञ्चार योजना बनाउन अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार