नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत मंगलबार प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहनुभएका नेता नेपालको निधनले पीडाबोध भएकासमेत बताउनुभएको छ । “नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् ।”
प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उहाँको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताउनुभएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको मंगलबार उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

