नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।


नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद अर्जुननरसिंह केसीले ‘हुन्छ’ र ‘हुन्न’ को सीमित प्रक्रियाले लोकतान्त्रिक विधि र मूल्यलाई ओझेलमा पार्न खोजिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै केसीले यस्ता अभिव्यक्ति दिएका हुन्।
उनले लोकतन्त्रमा निर्णय प्रक्रियाले वाद, प्रतिवाद र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए। “हुन्छ र हुन्नको बीचमा सत्य, न्याय र लोकतान्त्रिक प्रक्रियाहरू हराउँदै गएका छन्,” सांसद केसीले भने, “सरकारले सुझावहरू समेटेर विधि र प्रक्रियालाई पालना गर्दै अघि बढ्नुपर्छ।”
उनले विवेक र विचारको विविधता लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै अहिले त्यो अभ्यास मक्किँदै गएकोप्रति चिन्ता व्यक्त गरे। लोकतन्त्रको कमजोर अभ्यासप्रति आलोचना केसीले हालको राजनीतिक व्यवहारलाई आलोचना गर्दै भने, “सत्तामा बस्नेले आफैंलाई मात्र ठीक ठान्ने, र प्रतिपक्षमा बस्नेले सरकारका सबै कामलाई बेठिक ठान्ने प्रवृत्तिले संसद र लोकतन्त्र दुवै कमजोर भएका छन्।”
“हुन्छ–हुन्नको गतिले राष्ट्रको प्रगतिलाई नयाँ दिशा दिन सक्दैन,” उनले प्रष्ट पारे, “नागरिकको राय र सुझाव सुन्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता छ।”
विधिविहीनता र दण्डहीनताप्रति प्रहार समाजमा देखिएको निराशा लोकतन्त्रप्रति नभई विधिको उपेक्षाप्रति भएको उनले बताए। “दण्डविहीनता, विधिविहीनता, पक्षपात र कुशासनको निरन्तरता नै अहिलेको असन्तोषको कारण हो,” केसीको भनाइ थियो।
उनले पछिल्ला सरकारहरूको कार्यशैलीले नागरिकमा भरोसा गुमाएको उल्लेख गर्दै भने, “सडकमा जो आए पनि नागरिकले समर्थन गर्न थालेका छन्। कारण, न्याय नपाएको पीडा हो, व्यवस्था होइन।”
राजनीतिमा मनोविज्ञानको प्रभाव “जो सत्तामा बस्छ उसले आफू मात्र ठीक भन्ने मानसिकता राख्छ,” केसीले थपे, “यसले नागरिकमा निराशा थप्दै गएको छ र लोकतान्त्रिक प्रक्रिया कमजोर हुँदै गएको छ।”
उनका अनुसार लोकतन्त्रको सुदृढीकरणका लागि विचारको घर्षण, संवाद र विवेक आधारित सहमतिको आवश्यकता छ। उनले सबै पक्षलाई राष्ट्रहितमा सुझाव समेटेर अघि बढ्न आग्रह गरे।

