

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ राडरस्थित सडकमा बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र-०३-००१ ख १२४७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कपिलवस्तु, मायादेवी गाउँपालिका-८ बरकुलस्थित सडकमा लु.२ च ३२८८ नम्बरको भ्यान र युपि ५५ क्यू ३३१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगर पिपरिहवा बस्ने ५५ वर्षीय अस्दुल्ला मुसलमानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवन, भरतपुर महानगरपालिका-१४ नमस्तेचोकमा गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा.प्र.०३-००३ प २९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक पर्सा ठोरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय गम बहादुर कुँवरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता महोत्तरी, जलेश्वर नगरपालिका-२ सिनेमा हलस्थित सडकमा एमपि १३ पि ७७३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० साडी बस्ने ५० वर्षीया संजु ठाकुरको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ कोटिहवास्थित सडकमा लु.३० प ५१४६ नम्बरको मोटरसाइकल बिएबि ८४८४ नम्बरको कारमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ शुक्रौलिया बस्ने ३० वर्षीय पदम क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

