नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ जेठ ।


नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । बालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, । ” त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताउनुभयो । त्यस्तै राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ । उहाँले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पार्नुभयो । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उहाँले भन्नुभयो, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।”
बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उहाँको भनाई छ ।
“नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ । म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन । सबै सरोकारवाला निकायहरुसँग छलफल गरेर जान्छौँ”, गभर्नर पौडेलले भन्नुभयो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैंकको आन्तरिक मामिला भएको धारणा पनि उहाँले राख्नुभयो । नवनियुक्त गभर्नर डा पौडेलले रु ५०० र एक हजार दरका बैंक नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
डा पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो ।
