नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले श्रमिकका समस्या समाधानका लागि पार्टीले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालय बिपीनगर सानेपामा आयोजना गरेको पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि ‘श्रमजीवीका कुरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले २०१६ सालदेखि नै कांग्रेसले मजदुरको हक हितका लागि नीतिगत एवं कानुनी पहल गर्दै आएकामा अहिले पनि देखापरेका समस्याको समाधान कानुन संशोधनबाटै गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
श्रमिक नै देशको प्रमुख शक्ति भएकाले समस्या समाधानमा पहल गर्ने उपसभापति खड्काको प्रतिबद्धता छ । सरकारमा सहभागी कांगे्रसका मन्त्रीले राम्रो काम गरेको उल्लेख गर्नुहुँदै उहाँले पार्टीको उपस्थिति पनि सशक्त रहेको बताउनुभयो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले सूचना प्रविधिलगायत नयाँ, नयाँ माध्यमबाट रोजगारी सृजना गरेर युवालाई विदेशिनु नपर्ने वातावरण बनाउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नै श्रम कानुन बनाएर श्रमिकका समस्या समाधानमा योगदान गर्दै आएको कांग्रेसले अहिले देखिएका श्रमिकका समस्या समाधानमा पनि नेतृत्वदायी भूमिका निर्बाह गर्ने उहाँले बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख हरिशरण नेपालीले स्वदेशमै रोजगारीको सृजना गरी युवालाई विदेशिनुपर्ने अवस्था नआउने गरी नीति निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । राज्य र निजी क्षेत्रबाट पनि श्रमिक नै प्रताडित हुने गरेकाले समस्या समाधानमा कांग्रेस नै अघि सर्ने उहाँले बताउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रबहादुर कुँवरले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा जोडिनुपर्ने बताउनुभयो । बैङ्क तथा वित्तीय क्षेत्रमा श्रम कानुन नलाग्ने गरी सर्वोच्च अदालतबाट भएको फैसलाले श्रमिकका हकहित कुण्ठित गर्न सक्ने भएकाले सरोकार भएका सबैले सजग हुनुपर्ने उहाँको विचार थियो ।
ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले होटल र कारखानाका मजदुरमा सामूहिक सौदाबाजीको सिद्धान्तअनुसार काम नभएको उल्लेख गर्नुहुँदै होटलमा प्रशिक्षार्थी कामदारका रूपमा बिहान नौ बजेदेखि बेलुकी पाँच बजेसम्म काम गराएर खानामात्र खुवाई पारिश्रमिक नदिएर श्रमिकको शोषण भइरहेको बताउनुभयो ।
ट्रेड युनियन कांग्रेसका अर्का पूर्वअध्यक्ष खिलानाथ दाहालले श्रम क्षेत्रका कानुन कसिलो बनाउँदै लगेर श्रमिकको भलो नहुने भएकाले सबै मिलेर सरोकार भएकाको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राडा महानन्द चालिसे र चार्टर्ड एकाउन्टेन्ट अर्जुनकुमार गौतमले श्रमिकको हक हितका विषय समेटिएका कार्यपत्र प्रस्तुत गर्नुहुँदै आगामी दिनमा कांग्रेसले श्रमिकका सवालमा लिनुपर्ने नीतिका बारेमा प्रष्ट पार्नुभएको थियो ।

