नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ललितपुको ललितपुर महानगरपालिका-४ एकान्तकुना खरिबोटस्थित सडकमा बा.२ ख ३४८ नम्बरको बसले बा.७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं नैकाप बस्ने गोरखा घर भएका ३० वर्षीय संजिब अधिकारीको मृत्यु भएको छ ।
शनिबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा शनिबार दिउसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिका-१ पानी टयाङ्की चोकमा ना.७ ख ६३९१ नम्बरको टिपरले बा.६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मलंगवा नगरपालिका-१० बस्ने २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको छ । टिपरले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा शनिबार दिउसो मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै जुम्लाको तिला गाउँपालिका-४ भोटचौरस्थित सडकमा क.१ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा चालक तातोपानी गाउँपालिका-७ सर्मि बस्ने ४४ वर्षीय रण बहादुर कुँवरको मृत्यु भएको छ ।
शुक्रबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । उता सिरहाको भगवानपुर गाउँपालिका-१ कल्याणपुरस्थित सडकमा सप्तरीबाट भगवानपुरतर्फ आउँदै गरेको म.प्र.०१-००५ प ५०५२ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक सखुवानान्कारकट्टी गाउँपालिका-४ बस्ने २९ वर्षीय सुरेश कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

