मादी नदीको पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका- ३ र ४ जोड्ने मादी नदीको पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।



दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । जिपमा पाँच जना सवार थिए ।

मृत्यु हुनेमा व्यास- ५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये एक जना गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ भने चालक सामान्य रहेका छन् ।

दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

सम्बन्धित समाचार