सवारी दुर्घटनामा १० जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुरस्थित सडकमा स.१ त ५४४२ नम्बरको ट्याक्टरमा म.प्र.०२-०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका-१ जमुनी मध्येपुरा बस्ने १९ वर्षीय सन्तोष यादव र २२ वर्षीय सागर मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई छिन्नमस्ता अस्पताल राजबिराज हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर मोरङ रिफरगरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१७ अलौस्थित सडकमा ना.७ ख ९४२९ नम्बरको टिपरले बिआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक वीरगंज महानगरपालिका-१६ नगवा टोल बस्ने २२ वर्षीय छोटु साह सोनार र मोटरसाइकलमा सवार सोही महानगरपालिका-२९ रतनपुर टोल बस्ने २९ वर्षीय शुकुरूला अंसारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका छोटु साहको पावर हाउसस्थित निलकण्ठ अस्पतालमा र शुकुरूलाको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिन्डास्थित सडकमा पोखरभिन्डाबाट सरस्वती खोलातर्फ जाँदै गरेको स.१ त ६६४३ नम्बरको ट्याक्टरबाट लडेर सोही गाउँपालिका-२ पोखरभिण्डा बस्ने ३० वर्षीय प्रदिप चौधरीको शनिबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सल्यान, दार्मा गाउँपालिका-६ चौताराटोलमा रा.७ प ७४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक २१ वर्षीय जिबन बिकको घटनास्थलमै मृत्यु भएको छ ।

यता बर्दिया, मधुवन नगरपालिका-८ लालसिंह चोकस्थित सडकमा भे.१३ प २६६९ नम्बरको मोटरसाइकल र भे.६ प ५४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१३ प २६६९ नम्बरको मोटरसाइकल चालक गुलरीया नगरपालिका-२ बस्ने २८ वर्षीय देवानन्द यादव र भे.६ प ५४१ नम्बरको मोटरसाइकल चालक मधुवन नगरपालिका-८ लालिबजार बस्ने ३० वर्षीय टंक बहादुर बिसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.१३ प २६६९ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके पठाइएको छ । यसैगरी धनुषा, लक्ष्मीनिया गाउँपालिका-४ सपही पुलस्थित सडकमा महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००२ प ५९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय उपेन्द्र पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यसैगे लमजुङ, मर्स्याङ्दी गाउँपालिका-३ खुदी बेशी शहर-मनाङ सडक खण्डमा ज.५ प ७०१६ नम्बरको मोटरसाइकल र बिएए ०६९९ नम्बरको बोलेरो जिप एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक बेसिशहर नगरपालिका-१० बस्ने ४५ वर्षीय याकम तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार