सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ र धनुषामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३ स्थित सडकमा म.प्र ०२-०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई आइतबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार काठमाडौं चाबहिल बस्ने महोत्तरी घर भएकी १८ वर्षीया मनिसा परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा, जनकपुरधाम उपमहानगरपालिका-६ स्थित सडकमा प्र.०२-००७ प ९२६६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय मो. सतार राईनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार