

अक्षरशिल्पी शिवप्रसाद ढकालले हालै बजारमा ल्याएको कृतिको नाम हो– सुसङ्गतको यात्रा । यो एउटा यात्रा स्मरण हो । विशेष गरी आध्यात्मिक भावनाबाट ओतप्रोत भएर गरिएका धार्मिक मठ–मन्दिरको यात्रालाई कलात्मकता प्रदान गरिएको यस पुस्तकलाई मन ढकालले प्रकाशन गर्नुभएको छ ।
पूर्वीय सनातन दर्शनबाट प्रभावित र प्रेरित भएर तथा पूर्वीय सनातन आदर्शलाई जीवनको अभिन्न अङ्ग मान्ने करोडौं भक्तजनहरू दैनिक रूपमा नेपाल र छिमेकी मुलुक भारतका विभिन्न शक्तिपीठ, मन्दिर र धार्मिक–स्थलको भ्रमण गर्ने गर्छन् तर उनीहरूको अध्यात्मिक वा धार्मिक यात्रा उनीहरूको अनुभवमा नै सीमित हुने गर्दछ । यस्ता भ्रमणले व्यक्तिलाई धार्मिक वा मनोवैज्ञानिक आत्मलाभ भए पनि समाजले खास्सै केही लाभ लिन सक्तैन ।
समाजले भोगेको यो वस्तुगत यथार्थलाई नजिकबाट अनुभव गरेका लेखक ढकालले आफूले पारिवारिक वा सामूहिक रूपमा गरेका धार्मिक पर्यटन तथा अनुष्ठानलाई लिपिबद्ध गरेर आफ्नो यात्रानुभवलाई मात्र जीवन्त गर्नुभएको छैन, चाहेर पनि धार्मिक पर्यटन गर्न असमर्थ समाजलाई शब्दचित्रको माध्यमद्वारा आ–आफ्नै घरमा बसेर पनि तीर्थयात्रा र धार्मिक अनुष्ठानको आश्वादन गराउन सफल हुनुभएको छ । ढकाल स्वयम् साहित्यिक व्यक्तित्व भएकोले पनि प्राप्त अनुभव र दृष्टिगोचर भएका परिदृश्यलाई शब्दचित्रका माध्यमद्वारा मानसिक रूपमा धार्मिक स्थलको परिभ्रमण गराउनुभएको छ ।
पुस्तकमा २० शीर्षकहरू छन् । लेखकले २० शीर्षकमध्ये १९ शीर्षकअन्तर्गत रहेर आफ्नो जीवनको बालापन, बाल–चपलता, बाल–लीलाहरू प्रस्तुत गर्दै समयसँगै आफूमा आएको आध्यात्मिक चेतना र त्यसले पारेको प्रभाव तथा गरिएका धार्मिक अनुुष्ठानहरू, नेपाल र भारतमा रहेका प्रसिद्ध शक्तिपीठ तथा मठ–मन्दिरको पर्यटन, धार्मिक पर्यटनमा रहँदा भोग्नु परेका तीता मिठा अनुभवहरूलाई कलात्मक रूपमा प्रस्तुुत गर्नुभएको छ भने अन्तिम एउटा ‘तस्विरमा साधना यात्रा’ शीर्षकमा चाहिँ एकल वा सामूहिक रूपमा गरिएका धार्मिक भ्रमण र गरिएका अनुष्ठानका तस्विरहरू समावेश गर्नुभएको देखिन्छ ।
सारमा, पुस्तक आयमका दृष्टिले केही पातलो लागे पनि अन्तरव्याप्त विषयवस्तु तथा नेपाल र भारतमा रहेका प्रसिद्ध धामिक–स्थलको जीवन्त अभिलेखले किताबलाई पठनीय मात्र बनाएको छैन, सङ्ग्रहनीय पनि बनाएको छ ।
२०८२/०२/२३
