‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अघिकारीले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा त्यस्ता गन्तव्यको प्रचार प्रसार गर्नसके नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रर्दशनी अवलोकनपछि उहाँले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्य र सांस्कृतिक धरोहरहरूको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।

“पर्यटन हाम्रो अर्थतन्त्रको मुख्य आधार बन्न सक्ने सम्भावना भएको क्षेत्र हो । यद्यपि हामीले नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउने र उनीहरूको खर्च बढाउने कुरालाई ध्यान दिन सक्नुपर्नेछ”, प्राडा अधिकारीले भन्नुभयो ।

हिमाली पर्यटन तथा पर्यापर्यटन मात्र नभई नेपालका रैथाने रहनसहन, रैथाने स्वाद तथा परिकार, धर्म संस्कृतिबाट पनि पर्यटक भित्र्याउन सकिनेमा उहाँले जोड दिनुभयो । नीति निर्माण तहमा पर्यटन क्षेत्र प्राथमिकतामा परेको र त्यसबाट लाभ लिन सक्नुपर्छ भनेर सरकारले विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको पनि अधिकारीले उल्लेख गर्नुभयो ।

उहाँले रासस तस्बिर प्रदर्शनीमा प्रचारप्रसार नभएका र ओझेलमा रहेका पर्यटकीयस्थल पनि समावेश हुँदा आन्तरिक र बाह्य दुवै पर्यटकलाई ती क्षेत्रबारे जानकारी लिन योगदान पुग्ने बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हिमाल, हिमाली जनजीवन, पर्यापर्यटनजस्ता विविध पक्षको महत्व र यसको सौन्दर्यता उजागर गर्ने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले देशका विभिन्न स्थानमा छरिएर रहेका पर्यटकीयस्थलसँगै त्यहाँ भएका पूर्वाधार विकास तथा जनजीवन बुझ्न प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली क्षेत्रको जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

सम्बन्धित समाचार