नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।


मोरङ र जाजरकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका-७ संसारीमाईस्थित सडकमा विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को.२ च १३०० नम्बरको पिकअप आइतबार बिहान दुर्घटना हुँदा पिकअप चालक विराटनगर महानगरपालिका-८ बस्ने ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका-७ चामाखेतस्थित सडकमा कालिमाटीबाट रूकुम पश्चिम आठबिसकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ प ६५५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रूकुम पश्चिम आठबिसकोट नगरपालिका-११ गत्ता सैना बस्ने ६५ वर्षीय कैलो कामीको गए राति मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरहजारी रूकुम पश्चिममा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

