नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । पर्साको वीरगंज महानगरपालिका-३ स्थित नारायणी अस्पताल वीरगंजको पश्चिम गेट छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका-५ कसेरी घाटस्थित सेती नदीमा सोही नगरपालिका-८ संगमटोल बस्ने ५२ वर्षीया रूपमाया कुमाल शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-३ रामबस्तीस्थित सडक किनारमा सोही नगरपालिका-१ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता रौतहटको राजपुर नगरपालिका-४ राजपुर टोल बस्ने ४० वर्षीय शेख असलम आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

