नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । धादिङ, गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशुली नदी किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तनहुँ, व्यास नगरपालिका-१ बिसघरे घाटस्थित बुल्दिखोला, मादी र सेती नदीको संगम स्थल छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता भक्तपुर, चाँगुनारायण नगरपालिका-४ चाँगु खोरिया गणेशस्थान मन्दिर नजिक धान खेतमा काठमाडौं खुलालटार डेरा गरी बस्ने खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भएका ५५ वर्षीय काशीनाथ गेलाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ हाटबजारस्थित जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर अप्रेटरको पदमा कार्यरत काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ गोकर्णटोल घर भएका ४३ वर्षीय सुदिप पाण्डे सोही कार्यालय भित्र रहेको पुरानो भवनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता तनहुँ, बन्दिपुर गाउँपालिका-३ सेराटार बस्ने ५६ वर्षीय मंगले नेपाली सोही ठाउँस्थित खुदी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

