सांसद अर्जुननरसिंह केसीको टिप्पणी: “प्रतिकात्मक विरोध स्वाभाविक, तर संसद मर्यादित हुनुपर्छ”

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले संसदमा देखिएको प्रतिकात्मक विरोध स्वाभाविक प्रक्रिया भएको बताएका छन्।

मंगलबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मानव तस्करविरुद्धको अभियानस्वरूप निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि उठेको बहसमा सांसद केसीले यस्तो धारणा राखेका हुन्।

उनका अनुसार संसारभरका संसदहरूमा यस किसिमका विरोध प्रदर्शनहरू सामान्य मानिन्छन्। उनले उदाहरण दिँदै भने, “भारतमा कृषि विधेयकविरुद्ध कालोपट्टी, बेलायतमा ब्रेक्जिटविरोधी काटो टिशर्ट, अमेरिकामा मि–टु अभियानसँग जोडिएको पहिरन र अष्ट्रेलियामा हरियो टिशर्ट लगाएर सांसदहरूले विरोध जनाएका छन्। यस्ता गतिविधिहरू मर्यादाभित्रकै प्रदर्शन हुन्।”

सांसद केसीले संसदको ड्रेस कोडसम्बन्धी विषयमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले उठाएको मुद्दा पनि मर्यादाका पक्षमा रहेको बताए। उनले भने, “प्रमुख सचेतकले ड्रेस कोडको विषय उठाउनु मर्यादाको पक्षपोषण हो। विरोध मर्यादाभित्र हुने हो कि होइन भन्ने भन्दा पनि, विरोधको स्वरूपको बहस हो।”

नेपालको सन्दर्भमा बोल्दै केसीले विगतमा संसदभित्र कुर्सी भाँच्ने, ब्रिफकेस खोस्ने, सभामुखमाथि जुत्ता प्रहार गर्ने, मधेसवादी दलका सांसदले कालोपट्टी बाँध्ने र धोती-कुर्ता लगाएर विरोध गर्ने घटनाहरू भएका स्मरण गराए।

उनले स्पष्ट पारे, “प्रतिकात्मक विरोध संसारभरि स्वीकृत अभ्यास हो। तर, सांसदहरूलाई मर्यादित ढाँचामा राख्ने पहल हुनु राम्रो हो। संसदमा शोभनीय प्रदर्शन हुनुपर्छ भन्ने हो।”

सांसद केसीले अन्ततः जोड दिँदै भने कि विरोध त लोकतान्त्रिक प्रक्रियाको अंग हो तर त्यसले संसदको गरिमा क्षतविक्षत नबनाओस् भन्ने चेतना आवश्यक छ।

सम्बन्धित समाचार